नियम १८
दाना उद्योगको अनुज्ञापत्र
(१) दाना पदार्थ उत्पादन गर्न चाहने व्यक्तिले
उद्योग स्थापना गर्न उद्योग विभागमा निवेदन दिनुभन्दा अगावै केन्द्रीय खाद्य
अनुसन्धानशालाको सिफारिश लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सिफारिश लिन चाहने व्यक्तिले स्थापना
गर्न चाहेको उद्योगको सम्बन्धमा देहायका कुराहरू खुलाई योजना तयार गरी
केन्द्रीय खाद्य अनुसन्धानशालामा दरखास्त दिनु पर्नेछ ः–
(क) उद्योगको किसिम,
(ख) उद्योगको लागि चाहिने मेशीनरी,
(ग) प्राविधिक सीप,
(घ) सरसफाईको व्यवस्था,
(ङ) कच्चा पदार्थको किसिम र श्रोत,
(च) दाना पदार्थको प्याकिंग गर्दा एउटा पोकोको दोहोरो
उपभोग गरिने भएमा त्यस्तो पोकामा कीटाणुनाशक
औषधि छर्ने (प्यूमिजेशन) व्यवस्था ।
(३) उपनियम (२) बमोजिमको दरखास्त पर्न आएमा केन्द्रीय खाद्य
अनुसन्धानशालाले आवश्यकतानुसार प्रस्तावित दाना उद्योगको योजनामा
हेरफेर गरी सो अनुसार गर्न कबुलियत गराई दाना उद्योग स्थापना गर्न
अनुमति दिनको लागि सिफारिश गर्नेछ ।
(४) दाना उद्योग स्थापना गरिसकेपछि दाना पदार्थको उत्पादन कार्य
शुरु गर्नुभन्दा अघि बीस रुपैयाँ तिरी केन्द्रीय खाद्य अनुसन्धानशालाबाट
अनुसूची–८ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ ।
(५) यो नियमावली प्रारम्भ हुनुभन्दा अगावै स्थापना भएका दाना
उद्योगहरूले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र उपनियम(२) बमोजिमका विवरणहरू खुलाई केन्द्रीय खाद्य अनुसन्धानशालामा दरखास्त दिई बीस रुपैयाँ दस्तूर तिरी अनुसूची–८ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ ।
(६) उपनियम (४) र (५) बमोजिमको अनुज्ञापत्र स्थानीय अधिकारी
वा निजले तोकेको कर्मचारी वा दाना जाँचकीले खोजेको बखत देखाउन
सक्ने गरी उद्योग स्थल मै राख्नु पर्नेछ ।